काठमाडौं। एसवाई प्यानल नेपाल लिमिटेडले आइपीओ निष्कासन गरेको छ। एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि छुट्याएको ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ताका लागि बुधबारदेखि आवेदन खुला भएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। एसवाई प्यानल नेपालले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशतले हुन आउने कुल ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासनको अनुमति पाएको छ।
लगानीकर्ताले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १० देखि अधिकतम ५० हजार कित्ता सेयरका लागि कात्तिक २३ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ।
कम्पनीले यसअघि स्थानीयका लागि २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको २ लाख ६१ हजार ६२९ कित्ता र वैदेशिक रोजगारीमा गएकाहरुलाई ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको ४ लाख ९७ हजार ९२ कित्ता सेयर वितरण गरेको थियो।
